दफा ४७८
साहूले ऋणीसँग ब्याज लिन पाउने

(१) लेनदेन सम्बन्धी लिखत हुँदा लिखतमा ब्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहूले ऋणीबाट लिखतमा लेखिए बमोजिमको ब्याज लिन पाउनेछ ।
(२) उपदफा (१) बमोजिम साहूले ऋणीबाट लिन पाउने ब्याजको रकम साँवा रकमको वार्षिक दश प्रतिशतभन्दा बढी हुने छैन ।
(३) उपदफा (१) बमोजिम लिखत हुँदा लिखतमा ब्याजको दर किटान नगरी ब्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा साहूले ऋणीबाट साँवा रकमको वार्षिक दश प्रतिशतका दरले ब्याज लिन पाउनेछ ।
(४) उपदफा (१) बमोजिम लिखत हुँदा लिखतमा ब्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमा र त्यस्तो मुनाफा के कति लिने कुरा लिखतबाट नदेखिए साहूले ऋणीबाट ब्याज सरह लिन पाउनेछ ।